Banner Nepal
गण्डकी मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरामा कार्यरत लेखा अधिकृत झलक शर्माविरुद्ध ६ करोड २६ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले २०५४ माघ ८ देखि २०८० मंसिर १० सम्मको सेवाकालमा कमाएको आयभन्दा अत्यधिक सम्पत्ति खर्च गरेको ठहर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सो अवधिमा शर्माले तलब, भत्ता, कोष, जग्गा बिक्री लगायतबाट जम्मा ३ करोड ३९ लाख रुपैयाँभन्दा कम आम्दानी गरेका थिए। तर, बैङ्क खाता, सेयर खरिद, ऋण सापटी, सुनचाँदी खरिद, सवारीसाधन खरिद, शैक्षिक खर्चलगायतमा कुल ९ करोड ६६ लाख खर्च भएको देखिएको छ।

छानबिनमा सो ६ करोड २६ लाख रुपैयाँको स्रोत पुष्टि नभएको भन्दै भ्रष्टाचार निवारण ऐनअनुसार गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार उक्त सम्पत्ति शर्मा पत्नी हुमाकुमारी उपाध्यायको नाममा राखिएको पाइएको छ। अदालतसमक्ष कैद र जरिवानासहितको माग गर्दै बुधबार आरोपपत्र दर्ता गरिएको आयोगले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update