Banner Nepal
नवलपुरमा स्कर्पियो र बोलेरो ठोक्किँदा १० जना घाइते

काठमाडौँ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ गुम्बामा स्कर्पियो र बोलेरो ठोक्किँदा १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुम्किबासबाट अरुणखोलातर्फ जाँदै गरेको लु प्र ०१–००१ च ०९४८ नम्बरको स्कर्पियो र दलदलेबाट त्यतैतिर जाँदै गरेको बा प्र ०३–००१ च १४७४ नम्बरको बोलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

स्कर्पियोमा ९ जना र बोलेरोमा एक जना सवार थिए। दुबै सवारीमा रहेका सबै व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

घाइते हुनेमा स्कर्पियो चालक रेशमबहादुर शारु मगरसहित किरण फाल मगर, दानुमाया आले, सीता श्रेष्ठ, विष्णु श्रेष्ठ, रुपामाया श्रेष्ठ, यनिसरा लामिछाने, हरिबहादुर लामिछाने र कुलबहादुर कुमाल रहेका छन्। उनीहरूको डण्डास्थित मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

बोलेरोमा एक्लै रहेका हुप्सेकोट गाउँपालिका–१ का ४५ वर्षीय चालक ओमनारायण महतो सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update