
काठमाडौँ। रसुवागढीमा आएको भीषण बाढीले ड्याम साइडमा फसेका २३ जना जलविद्युत् आयोजनाका कामदारलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त प्रयासमा उद्धार सम्पन्न गरिएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धारका लागि सेनाले दुईवटा हेलिकोप्टर—एनए–०३८ एमआई र इकुरेल—परिचालन गरेको थियो।
उद्धार गरिएकामध्ये एक जना चिनियाँ नागरिक, १५ जना नेपाली पुरुष र २ जना महिला रहेका छन्। ती सबै रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत थिए र बाढीले डुबानमा पारेपछि सम्पर्कविहीन अवस्थामा परेका थिए।
बाढी चीनको लेन्डे खोला हुँदै भोटेकोशीबाट नेपाल प्रवेश गर्दा आयोजनास्थल डुबानमा परेको थियो। थप खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
सैनिक स्रोतका अनुसार धादिङको बाहिनी अड्डाबाट त्रिशूली र श्रीनाथ गणबाट स्याफ्रुबेँसीतर्फ टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले हालसम्म ५० जनाको उद्धार भइसकेको र अन्यको खोजी जारी रहेको जानकारी दिए।
यस बाढीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ। नेपाल–चीन सीमामा रहेको ऐतिहासिक मितेरी पुल पूर्णरूपमा बगिएको पुष्टि भएको छ।