Banner Nepal
डोल्पाको विद्यालय ठेक्कामा अनियमितता, प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। डोल्पाको अन्नपूर्ण माध्यमिक विद्यालयमा ठेक्का प्रक्रिया दुरुपयोग गरी २९ लाख ६० हजार ६९२ रुपियाँ बराबरको आर्थिक क्षति पुर्‍याएको अभियोगमा प्रधानाध्यापक नरदेव रोकाया सहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, विद्यालयको भवन निर्माणको ठेक्का सोही विद्यालयकी शिक्षिका र गाउँपालिका अध्यक्षकी श्रीमती उषा कुमारी सिंहको ‘दर्शन एण्ड दिग्दर्शन निर्माण सेवा’ लाई गैरकानुनी रूपमा दिइएको हो।

सार्वजनिक खरिद ऐन तथा नियमावलीको उल्लंघन गर्दै न्यूनतम दर कबोल गर्ने महातारा निर्माण सेवालाई अयोग्य घोषित गरी उच्च दर कबोल गर्ने कम्पनीलाई अनुचित रूपमा छनोट गरिएको आयोगको निष्कर्ष छ। महाताराले ४९ लाख ८३ हजार ३९४ रुपियाँ कबोल गरेको भए पनि दिग्दर्शन निर्माण सेवाले ७९ लाख ५१ हजार ७२९ कबोल गरेको ठेक्का पाएको थियो।

बोलपत्र मूल्याङ्कनमा साइट निरीक्षण नगरेको भन्ने झुटो आधार देखाएर मनपरी छनोट गरिएको र यसबाट विद्यालयलाई ठूलो आर्थिक हानि पुगेको आयोगले जनाएको छ। फरक रकम २९ लाख ६० हजार ६९२ रुपियाँलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागसहित आइतबार आरोपपत्र दायर गरिएको हो।

आरोपितमा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जनक बुढा, शिक्षकहरू, स्थानीय जनप्रतिनिधि र अन्य व्यक्तिहरू छन्। साथै, प्रमुख लाभान्वित उषा कुमारी सिंह र उनको कम्पनी दिग्दर्शन निर्माण सेवा समेत मुद्दाको घेरामा छन्।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update