
काठमाडौं । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल प्रति जन आक्रोश चुलिएको छ । उनको कार्यशैली र आर्थिक अनियमितताको गतिविधिका कारण पौडेल आलोचित बन्दै गएका हुन् ।
नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख पौडेल आफ्नै पार्टीबाट समेत आलोचित हुन थालेपछि अप्ठ्यारोमा पर्न थालेका हुन् । मेयर पौडेलले प्रतिपक्षी दलहरूको विरोध मात्र होइन पार्टीभित्रको चर्को असन्तुष्टि र आलोचना झेल्नु परेको छ ।
सञ्चारकर्मी, नागरिक समाज र सर्वसाधारणसमेतले प्रमुख पौडेलको कार्यशैलीको विरोध गर्दै उनी व्यापक आर्थिक अनियमितता र भ्रष्टाचारका गतिविधिमा प्रत्यक्ष जोडिएको आरोप लगाएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा समेत पौडेलको चर्को विरोध र आलोचना भइरहेको देखिन्छ । भ्रष्टाचारको घटनामा उनको सम्लग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्दीय कार्यालय र इटहरी कार्यालयमा समेत उनले बयान दिनु परेको छ ।
उनिविरुद्ध परेको उजुरुमाथि अनुसन्धान भइरहदा आम मानिसले समेत पौडेलको आलोचना र विरोध गर्न थालेका छन् । मेयर पौडेलले स्थानीय सञ्चारकर्मी तथा पत्रकारहरूमाथि विभिन्न किसिमका आरोप–प्रत्यारोप लगाउँदै समग्र पत्रकारिता क्षेत्रको बदनाम गर्न खोजेपछि नेपाल पत्रकार महासंघ सुनसरीले प्रेस विज्ञप्ति नै जारी गर्दै उनको कार्यशैली र रबैयाको विरोध जनाएको छ ।
विज्ञप्तीमार्फत महासंघले प्रेस स्वतन्त्रताको खिलाफमा पौडेलले दिएको अभिव्यक्तीको भत्सर्ना गरेको छ । कांग्रेसकै कतिपय नेताहरूले इटहरी उपमहानगरलाई आर्थिक दृष्टिले टाट पल्टाउने निर्णय गरेको भन्दै छानबिनको मागसमेत गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको तर्फबाट सार्वजनिक यातायातका लागि बस खरिद गर्दा झन्डै डेढ करोड रुपियाँ बराबरको भ्रष्टाचार भएको आरोप उनीमाथि लाग्दै आएको छ ।
मेयर पौडेलको कार्यशैलीको विरोध अब दलगत राजनीतिभन्दा बाहिर पुगिसकेको छ । एमाले, माओवादी, राप्रपालगायतका दलहरूबाट सार्वजनिक रूपमा आलोचना भइरहेकै बेला उनी आवद्ध नेपाली कांग्रेसभित्रको असन्तोषले थप उनी कमजोर बन्दै गएका छन् ।
इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवश पोख्रेलले नगर प्रमुख पौडेलको गतिविधि र कार्यशैलीमाथि नेपाली कांग्रेस, अन्य दल, नागरिक समाज र स्थानीय स्तरमामात्र नभइ आन्तरिक रुपमा नगरपालिकाको कार्यपालिका समिति र कर्मचारी संयन्त्र भित्र पनि आलोचना भइरहेको बताए ।