
काठमाडौं । बिपी राजमार्गमा भोलिदेखि राति साढे १० घण्टा यातायात चलाउन पूर्ण बन्देज लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राजमार्गअन्तर्गतको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाएको हो ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक नै बगाएको थियो ।
अझै सो खण्डमा राजमार्ग पुनर्निर्माण नभएकाले वर्षा याममा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउनु परेको कार्यालयले जनाएको छ । सो राजमार्गमा दिउँसो पनि यात्रा गर्न उस्तै सकस छ ।
ठाउँमा ठाउँमा पहिरोको जोखिम छ भने रोशी खोलाले गत असोजमा बाटा बगाएका कारण ठूलो पानी पर्दा जति बेला पनि खोला उर्लिने उतिकै त्रास छ । यस अघि असार ७ गते पनि सो खण्डमा १५ दिनका लागि राति सडक सञ्चालनमा रोक लगाइएको थियो ।