
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको नाला पुल भत्किएको छ ।
काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने सो पुल भत्किएसँगै त्यहाँ यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सो सडक राजधानी काभ्रेबाट काठमाडौँ आउने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । २०३७ सालमा निर्माण भएको सो पुल भत्किएपछि सो सडक खण्ड भएर चल्ने यातायातका साधनलाई डाइभर्ट गरिएको छ । आज बिहान मालबाहक गाडी पुल पार गरेलगत्तै भाचिएको स्थानीयले बताएका छन् ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।
जिल्ला ट्राफिक कार्यालय काभ्रेले सो सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्नका लागि सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जनाएको छ ।