Banner Nepal
उपभोक्ता अदालतको आदेशको उलंघन गर्ने डा. तिवारीलाई उच्चको अर्को आदेश

काठमाडौं । उच्च अदालत पाटनले बिरामीको उपचारमा लापरबाही गर्ने अस्पताल र चिकित्सकविरुद्ध क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको आदेशविरुद्ध कालोपट्टी बाँधी विरोध गर्न आह्वान गर्ने नेपाल मेडिकल एसोसिएसनका महासचिव सञ्जीव तिवारीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको अदालतको अवहेलनासम्बन्धी निवेदनमा बिहीबार उच्चका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफसहित आफँै उपस्थित हुन तिवारीका नाममा आदेश जारी गरेको हो ।

चिकित्सकीय लापरबाही, त्रुटि र हेलचेक्र्याइँ गर्नेलाई उपभोक्ता अदालतले क्षतिपूर्तिको सजाय सुनाएपछि त्यसविरुद्ध महासचिव तिवारीले एसोसिएसनका नाममा विज्ञप्ति जारी गर्दै कालोपट्टी बाँधेर सेवा प्रदान गर्न आह्वान गरेका थिए ।

उपभोक्ता अदालतमा डा तिवारीका आफन्त डाक्टर ज्योत्सना शर्माको लापरबाहीका कारण बिरामीको मृत्यु भएको मुद्दा पनि विचाराधीन अवस्थामा रहेकाले तिवारीले एसोसिएसका नाममा विज्ञप्ति निकालेर दबाब दिइरहेको दाबीसहित उच्च अदालतमा उपभोक्ता हित संरक्षण मञ्चले अवहेलनाको निवेदन दर्ता गरेको थियो ।

उपभोक्ता अदालतको काम कारबाहीलाई प्रभावित पार्नेगरी अदालतको अपहेलना गर्ने, कानुनको अपव्याख्या गर्ने, पूर्णपाठ नै तयार नभएको अवस्थामा अदालत र फैसलाउपर गलत सन्देश प्रवाह गर्ने, अदालतविरुद्ध कालोपट्टी बाँधी विरोध गर्न प्रेसनोट जारी गर्ने आदि कार्य गरी गलत सन्देश प्रवाह गर्ने कार्य गरेको भन्दै एसोसिएसनका महासचिव तिवारीलाई अवहेलनामा कारबाही गर्न माग निवेदनमा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update