
काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग आज सुचारु भएको छ। कालीकोटको जितेनजिक खसेको पहिरोले जिते–मान्म सडकखण्ड अवरुद्ध भएपछि यातायात ठप्प भएको थियो।
पहिरो हटाएपछि राजमार्ग खुलेको र यात्रुहरू गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले जानकारी दिनुभयो।
वर्षासँगै जिते, हुल्मलगायत स्थानहरूमा पहिरो खस्ने क्रम बढेको छ। स्थानीय तहद्वारा खनिएका अस्थायी सहायक सडक, बारम्बार हुने अपूरा मर्मत तथा सडक फराकिलो बनाउने अव्यवस्थित प्रयासहरूले जमिन कमजोर बनेर पहिरोको जोखिम बढाएको स्थानीयबासीको गुनासो छ।
पहिरोको कारण केही घण्टा सडक बन्द हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए। साथै, पहिरो प्रभावित क्षेत्रमा होटल र पसलको अभावले उनीहरूलाई थप सास्ती भएको थियो।
डिएसपी रावतका अनुसार, वर्षायाममा कर्णाली राजमार्ग छोटो समयमै अवरुद्ध हुने र फेरि खुल्ने प्रक्रिया सामान्यजस्तै भएको छ। पहिरो पन्छाउन सडक डिभिजनले स्काभेटर तयारी अवस्थामा राख्ने गरेको भए पनि साँघुरो सडकले गाडी आवागमनमा ढिलाइ हुने गरेको उहाँले बताउनुभयो।