Banner Nepal
धनगढीमा अविरल वर्षाले हजारौं घर डुबानमा, आठ जना उद्धार

काठमाडौं ।आइतबारदेखि भइरहेको लगातारको वर्षाले धनगढी उपमहानगरपालिका डुबानमा परेको छ। डुबानमा फसेका आठ जनाको आज प्रहरीद्वारा सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ।

उद्धार गरिएकामध्ये चार जना धनगढी–१३ स्थित श्रीलङ्का क्षेत्रका र अन्य चार जना बेली गाउँका हुन्। बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उहाँसहित परिवारका चार जनालाई उद्धार गरी नजिकैको आफन्तकहाँ सुरक्षित स्थानमा सारिएको हो। त्यसैगरी, श्रीलङ्काका एकै परिवारका चार जनालाई उद्धार गरी नजिकको आधारभूत विद्यालयमा आश्रय दिइएको छ।

जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोसीका अनुसार, गएरातिदेखिको भारी वर्षाका कारण करिब दुई हजार घरमा पानी पसेको छ। धनगढीका वडा नम्बर १, ३, ४, ७, ११ र १३ विशेषगरी प्रभावित भएका छन्।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update