
काठमाडौं । मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आज जनताको बहुदलीय जनवादका तीन दशक शीर्षकमा राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा फाउन्डेसनका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाइएको छ ।
त्यस्तै, पूर्व राष्ट्रपति विद्या भण्डारी विशिष्ट अतिथिका रूपमा गोष्ठीमा सहभागी हुने बताइएको छ । मदनको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति एवं पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले एउटै मञ्चबाट सम्बोधन गर्ने संयोग जुटेको छ ।
दुई कार्यकाल राष्ट्रपति भएपछि भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउने बारे औपचारिक घोषणा गर्ने आँकलन गरिएको छ । यसैकालागि फाउन्डेसनले काठमाडौंमा केन्द्रीय स्तरको राष्ट्रिय गोष्ठी गर्न लागेको कतिपयको अनुमान छ । ओली र भण्डारीले आज गर्ने सम्बोधन सर्वत्र चासोको विषय बनेको छ ।
फाउन्डेसनले यो कार्यक्रमलाई केन्द्रमा मात्रै सीमित नराखेर सात दिनसम्म सबै जिल्लामा जबजका तीन दशकका बारेमा चर्चा गर्ने जनाएको छ । पूर्व राष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक क्रियाशीलताप्रति कार्यकर्तालाई जानकारी गराउन भोलि देखि फाउण्डेशनमार्फत देशब्यापी अभियानमा जाने तयारी गरेको बुझिएको छ ।