
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ सालको परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन् । एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन् ।
यस पटकको नतिजा पछिल्लो वर्षको तुलनामा उच्च उत्तीर्ण दर हो । गत वर्ष एसइईमा ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । अहिलेको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले धेरै हो ।
यस पटक एसइईमा न्यूनतम ७० प्रतिशत परीक्षार्थी उत्तीर्ण गराउने गरी सरकारी तयारी थियो । ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको उत्तीर्ण प्रतिशतलाई समेत आधार मानेर गणना गर्ने हो भने सरकारी लक्ष्यभन्दा पनि बढी उपलब्धि हुने देखिन्छ ।
विगतमा जस्तै गणित, विज्ञान, अंग्रेजी, सामाजिकमा सबैभन्दा धेरै छात्रछात्रा ‘ननग्रेडेड’ (असफल) भएका छन् । गणितमा मात्रै १ लाख २८ हजार २ सय १५ जना ‘ननग्रेडेड’ छन् । अंग्रेजीमा ८० हजार ६ सय ७२, विज्ञान तथा प्रविधिमा ७९ हजार २ सय ७१, सामाजिकमा ५३ हजार १ सय ८६, नेपालीमा ५४ हजार ७ सय ३५, अर्थशास्त्रमा ४२ हजार १ सय ५० र ऐच्छिक गणितमा १८ हजार २ सय २२ जना ‘ननग्रेडेड’ भएका छन् ।
बोर्डका अनुसार १ सय २६ जनाको परीक्षा भने रद्द गरिएको थियो । सामुदायिक विद्यालयमा वर्षौंदेखि गणित, विज्ञान, अंगेजीलगायत विषयमा शिक्षक अभावको समस्या छ ।