
काठमाडौं । पहिरो खस्ने क्रम नरोकिएपछि तीनदिन देखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन ।
पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा ल्याउन समस्या भएको हो । लामो समयसम्म सडक अवरुद्धहुँदा स्थानीयवासी थप समस्यामा परेका छन् ।
कालीगण्डकी गाउँपालिका अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपरान्हदेखि सडकमा सुक्खा पहिरा खस्ने क्रम रोकिएको छैन । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् ।
पहिरो पन्छाउने क्रम जारी रहे पनि आज बेलुकीसम्म पनि सो सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो । यसैबीच, पुष्पलाल लोकमार्ग अन्तगर्त रामेछाप र दोलखाको सिमाना खिम्ती खोला नजिकै पहिरोले सडक अवरुद्ध बनेपछि यातायात ठप्प भएको छ ।
दोलखा प्रहरीका अनुसार आज बिहान खसेको पहिरोले पुष्पलाल मार्ग भएर रामेछाप र दोलखाबाट राजधानीसहित सदरमुकाम आउजाउ गर्ने सवारी आगमन ठप्प भएको हो । पहिरो निकै ठूलो भएका कारण अवरुद्ध सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
सो भेग भएर गुड्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । माथिल्लो क्षेत्रमा निरन्तर परिरहेको वर्षाका कारण खिम्ती खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन त्यस क्षेत्रका स्थानीयलाई जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पहिरोले राप्ती राजमार्ग गएरातिदेखि अबरुद्ध भएको छ ।
अविरल वर्षापछि सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा पहिरो खसेर राजमार्ग गएराति ९ बजेदेखि अबरुद्ध भएको हो । राजमार्ग अबरुद्ध हुँदा यातायातका साधन सडकमै रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले बताउनुभयो । कपुरकोटबाट साततले निस्कने वैकल्पिक मार्ग समेत वर्षाका कारण अवरुद्ध भएको छ ।
अहिले सडकमा खसेको पहिलो हटाउने काम भईरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो हटाउँदै गर्दा माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकोले अबरुद्ध सडक खुलाउन समस्या भएको छ । वर्षाका कारण चोरखोलमा दैनिकजसो पहिरो जाँदा यात्रुलाई सास्ती हुने गरेको छ ।