
काठमाडौं । कालीगण्डकी कोरिडोरमा निरन्तर पहिरो झरेका कारण २४ घण्टादेखि सडक अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
शुक्रबार सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिए ।
अवरुद्ध सडक खुलाउनका लागि एक्साभेटर तयारी अवस्थामा रहे पनि सडक माथिबाट ढुङगाहरू खसिराखेका कारण सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।
सदरमुकाम तम्घासदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा हिँडेका हीरा कुँवर, टोपलाल अर्याललगायत यात्रुहरू सोही पहिरोमा रोकिएर बसेका छन् । सडक खुलाउन समय लाग्ने भएकाले साना सवारीहरूले हर्मिचौरमाथि देउराली अर्वेनीकोट हुँदै झर्न थालेका छन् ।
सडक अवरुद्ध हुँदा पुर्तिघाटदेखि बुटवल र बुटवलदेखि पुर्तिघाट आएका सवारीहरू अलपत्र परेका छन् । यसका साथै हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने यात्रुहरू पनि अलपत्र परेका छन् ।