
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किवास दाउन्ने खण्डमा ठूला र भारी सवारी सञ्चालनमा रोक लगाइएको छ । दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक विभाग र प्रशासनले यस्तो निर्णय गरेको हो ।
निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीवासस्थित विनयी खोला पुलको डाईभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकोले नयाँ पुल सञ्चालनमा नआउँदासम्म मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो ।
दाउन्ने खण्डको केही स्थानहरुमा ग्राबेल राखेर सडकमर्मत गर्ने काम भइरहेको छ । आयोजनाले सूचना जारी गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ । सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।