
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले कोशी प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जनमतले आगामी असार १३ गते मोरङको टंकिसिनुवारीमा प्रदेश भेला गर्न लागेको हो ।
दुई दिनसम्म चल्ने भेलाको उद्घाटनसभालाई अध्यक्ष राउतले सम्वोधन गर्ने छन् । भेलामा पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा. जयकान्त राउत, सांसद सोनु मुर्मुलगायतको सहभागी हुने सो पार्टीले जनाएको छ ।
भेलामा कोशी प्रदेशका सयौं कार्यकर्ता सहभागी हुने केन्द्रीय नेता बुद्धिराज न्यौपानेले जानकारी दिए । मधेस केन्द्रित राजनीतिक शक्तिको रूपमा उदाएको जनमत पार्टी पछिल्लो समय आफ्नो गति र प्रभाव कायम राख्न नसकेको विश्लेषण हुन थालेको छ ।
स्थापनाकालमा मधेसका मुद्दाहरूलाई आक्रामक रूपमा उठाएर चर्चामा आएको जनमतले पछिल्लो समय निष्क्रिय भएकोे आलोचना खेप्न थालेको छ । जनमतले प्रारम्भिक जोश र जनसमर्थनलाई निरन्तरता दिन नसकेको भन्दै कार्यकर्ता असन्तुष्ट देखिन्छन् ।
जनमत पार्टीले मधेसका २२ जिल्लामा आफ्नो संगठन विस्तार गर्ने योजना बनाए पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा कार्यकर्तामा असन्तुष्टि बढेको हो ।
सोही असन्तुष्टिलाई सम्बोधन गर्न पार्टीले कोशी प्रदेशस्तरीय भेला बोलाएको नेताहरुको भनाइ छ । स्थानीय तहमा कार्यकर्ता परिचालन र जनसंम्पर्क अभियानमा कमी आएकोले पनि पार्टीको प्रभाव कमजोर बनेको देखिन्छ। जनमतले अझै पनि स्थानीय तहमा आफ्ना एजेन्डा र योजना लिएर जनतामाझ पुग्न नसकेको भन्दै नेतृत्वमाथि दबाब बढ्दै गएको छ ।