Banner Nepal
भारतबाट फर्किएकामा कोरोना पुष्टि, नेपालगन्ज नाकामा जाँच कडाइ

भारतमा कोरोना संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेसँगै नेपालगन्जको जमुनाहा नाकामा स्वास्थ्य सतर्कता पुनः कडाइ गरिएको छ। भारतबाट फर्किने यात्रुहरूमा संक्रमण देखिन थालेपछि शङ्कास्पद व्यक्तिहरूमाथि कोरोना परीक्षण सुरु गरिएको बाँके स्वास्थ्य कार्यालयले जनाएको छ।

सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार सीमा नाकाबाट आउने नेपाली र भारतीय नागरिकमाथि निगरानी बढाइएको छ र स्वास्थ्यमा संकास्पद लक्षण देखिएकाहरूको परीक्षण गरिँदैछ।

यही क्रमको परीक्षणमा भारतको देहरादुनबाट फर्किएका बर्दिया निवासी २६ वर्षीय महेशकुमार थारूमा कोरोना पोजिटिभ पुष्टि भएको छ। यद्यपि उनको स्वास्थ्यमा कुनै लक्षण नदेखिएको र उनलाई मास्कसहित होम आइसोलेसनमा पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यदि लक्षण देखिएमा उनलाई भेरी अस्पतालमा लगेर पिसिआर परीक्षण गरिने बताइएको छ। भारतमा कोरोना पुनः फैलिन थालेसँगै सीमामा परीक्षण कडाइ गरिएको हो।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update