Banner Nepal
‘अलबिदा’ लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठ सकुशल फेला

काठमाडौं । केही दिनअघि फेसबुकमा ‘अलबिदा’ भन्दै भावुक स्टाटस लेखेपछि सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठलाई प्रहरीले सकुशल फेला पारेको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार डा. श्रेष्ठ तार्केश्वर नगरपालिका–३ मा रहेको श्रीनाथ बुटिक रिसोर्टमा भेटिएका हुन्। बालाजु क्षेत्रमा भेटिएका उनलाई प्रहरी भद्रकालीस्थित कार्यालय ल्याउँदै छ।

फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू अन्यायमा परेको, गलत आरोप लगाइएको र सरुवामा राजनीतिक चलखेल भएको आरोप लगाएका थिए। रामेछाप जिल्ला अस्पतालमा प्रमुख पदमा कार्यरत श्रेष्ठ हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौंडामा सरुवा भएका छन्। उनका अनुसार अस्पताल सुधारको प्रयास गर्दा केही कर्मचारी र स्थानीय नेताको रिसको शिकार हुनुपरेको हो।

उनी भन्छन्, अस्पताललाई सुधार गर्न लाग्दा केही कर्मचारी र नेताहरूले बदनाम गर्ने, दबाब दिने, तथा स्पष्टीकरण माग्दा प्रतिशोध स्वरूप उनीविरुद्ध षड्यन्त्र गर्न थाले। उनले रामेछापका स्थानीय नेता केदार कार्कीले व्यक्तिगत स्वार्थ पूर्ति गर्न दबाब दिएको र त्यसमा नमानेपछि धम्की समेत दिएको आरोप लगाएका छन्।

श्रेष्ठका अनुसार आफूविरुद्ध छानबिन चलिरहेकै बेला कुनै सुनुवाइ बिना हतारमा सरुवा गरियो। उनले स्वास्थ्य मन्त्रालयका केही अधिकारीमाथि गैरजिम्मेवार व्यवहार गरेको पनि गुनासो गरेका छन्। हेटौंडा पुगेपछि एक प्रशासनिक अधिकृतले स्पष्टीकरण नदिई उनलाई फेरि रामेछाप फर्काएको बताएका छन्।

परिवार र स्वास्थ्य अवस्थाको बाबजुद राति काठमाडौं आउन बाध्य भएको उल्लेख गर्दै उनले मानसिक तनावका कारण आत्महत्याको प्रयाससमेत गरेको खुलाएका छन्। अस्पताल सुधारको मेहनतको बदलामा कारबाही खेप्नु परेकोमा उनी दुःखी छन्।

‘नेपालमै केही गर्ने सपना थियो, तर अहिले पश्चाताप भइरहेको छ,’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update