
काठमाडौं । नायिकका रुपमा खासै दर्शकको नोटिसमा पर्न नसकेकी सारिका घिमिरेलाई एकाएक एउटा गीतले सबैमाझ चिनाइ दिएको छ । आफ्नै शब्द, संगीतमा उनले गाएको ‘गुन भुलेउ’ भन्ने गीत अहिले उनको परिचय बनेको हो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको यो गितले २ साताको अवधीमा ३६ लाख भ्यूज पाएको छ । गुन भुलेउको मेलोडी र शब्दले सबै उमेर समूहका दर्शक श्रोताको मन जितेपछि सारिका एकाएक सबैमाझ चर्चित भएकी छन् ।
आधा दर्जनजति सिनेमामा अभिनय गरेपनि दर्शकको रोजाइमा पर्न नसके पनि सारिकाले गायन क्षेत्रमा आफूलाई स्थापित गर्न सफल भएकी छन् ।
उनले ‘जीवन काँडा कि फूल’, ‘आगो २’, ‘परिणाम’ लगायत चलचित्रमा अभिनय गरेकी थिइन् । लोकपप, आधुनिक, लोक आधुनिक लगायत गीत गाउदै आएकी सारिकाले आफूलाई अब्बल गायिकाका रुपमा साबित गरेकी छन् ।
उनका ‘ऐंसेलुको पात’, ‘रातो गलबन्दी’, ‘हेल्लो’, ‘घिन्ताङ घिन्ताङ’, ‘जोश छ जवानीको’, ‘मायालु’ जस्ता गीतहरू श्रोतामाझ निकै रुचाइएका गीत हुन् । अभिनयबाट गायनमा फर्किएपछि सारिकाको निरन्तरको सफलता रोचक बन्दै गएको छ ।