Banner Nepal
प्रदेश सरकारले आज बजेट ल्याउँदै, कसको कति हेर्नुस् विवरण

काठमाडौं । नेपालका सबै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२÷८३ को वार्षिक आय व्ययको विवरण बजेट सार्वजनिक गर्दैछन् । संविधानअनुसार, प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने कानुनी प्रावधान छ । सबै प्रदेशका आर्थिक मामिलामन्त्रीहरुले बजेट प्रस्तुतीका लागि सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

कोशी प्रदेशले ३७ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा आयव्ययको अनुमानसँगै आर्थिक विधेयक र विनियोजन विधेयक पेश गर्ने कार्यसूची छ । कोशी प्रदेशले गत आर्थिक वर्षमा ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । मधेश प्रदेश सरकारले ४७ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

गत वर्षभन्दा २ अर्ब बढीको बजेट ल्याउने तयारी भएको स्रोतको भनाई छ । अर्थमन्त्री सुनिलकुमार यादवले दिउँसो बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्ने कार्यसूची छ । मधेश प्रदेशले गत आर्थिक वर्षमा ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशले करिब ६८ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेले दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । बागमतीले गत वर्ष सात प्रदेशमध्ये सबै भन्दा धेरै ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो ।

बागमती प्रदेशले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएको छ । गण्डकी प्रदेशले चालु आर्थिक वर्षको भन्दा एक अर्ब रुपैयाँ घटाएर बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा टकराज गुरुङले दिउँसो ४ बजे प्रदेश सभा बैठकमा ३२ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने तयारी गर्नु भएको छ ।

चालु आर्थिक वर्षमा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट ल्याइएको थियो । लुम्बिनी प्रदेश सरकारले करिब ३२ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले भने गत आर्थिक वर्षको हाराहारीमा नै यस वर्षको बजेट ल्याउने तयारी गरेको छ ।

गत वर्ष २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशसभाको बैठक साँझ ५ बजे बोलाइएको छ आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले जानकारी दिनुभयो । कर्णाली प्रदेशले गत वर्षको हाराहारीमै नयाँ बजेट ल्याउने तयारी गरेको छ । दिउँसो बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिकमन्त्री राजीबविक्रम शाहले ३१ देखि ३२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।

प्रदेश सरकारले शिक्षा, कृषि र सीपलाई उत्पादनसँग जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ । नेपालको संविधानअनुसार, केन्द्रीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।


 

111111111-1749981247.png
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update