
काठमाडौं । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा गरिएको मुद्दा दायरका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कमिटीले राजनीतिक प्रतिशोधको योजनाबद्ध षडयन्त्र गरेर सरकारले अध्यक्ष नेपाललाई फसाउन खोजेको आरोप लगाएको हो । प्रदेश कमिटीका उपाध्यक्ष समेत रहेका प्रचार विभाग प्रमुख ज्ञानबहादुर बस्नेतले आज विज्ञप्ती मार्फत आफ्नो नेतृत्वमाथि चरित्र हत्या र मनोवैज्ञानिक आक्रमण गर्ने प्रयास गरिएको भन्दै कडा प्रतिवाद गर्ने जनाएका छन् ।
पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा खरिद– बिक्रीको विषय नेपाल सरकारकै निर्णयमा आधारित रहेर गरिएको प्रक्रियालाई राजनीतिक प्रेरणाबाट आरोप लगाइनु प्रशासनिक प्रक्रियाको उपहास भएको समाजवादीले ठहर गरेको छ ।