
काठमाडौं । भारतमा कोरोना सङ्क्रमण वृद्धि भएसँगै नेपालमा पनि त्यसको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन थालिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पछिल्लो ६ महिनायता एक सय जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा मात्र थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै थप सतर्कता अपनाउन थालिएको महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले बताउनुभयो ।
भारतमा भने हालसम्म पाँच हजार पाँच सय जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । निर्देशक डा. झाले सुदूरपश्चिमको त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
एमालेको विद्यार्थी संगठन अनेरास्वियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुको २४ औं राष्ट्रिय महाविधेशन आजबाट सुरु हुँदैछ ।
अनेरास्वियुको नेतृत्वका लागि युवा नेताहरुको दौडधूप बढेको छ । महाधिवेशनले कुल १ सय ९१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयन सर्वसम्मत गर्नका लागि पदाधिकारी बोर्डलाई निर्देशन दिइसक्नुभएको छ ।
यद्यपि, लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन हुने सम्भावना पनि उत्तिकै छ । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा कठिनाइ हुने एक नेताले बताएका छन् । अनेरास्वियुको अध्यक्षका लागि प्रकाश पौडेल, सुजन कडारिया र दीपक धामी लगायत नेताहरुबीच प्रतिस्पर्धा देखिएको छ । यस्तै, सचिवालय सहित केन्द्रीय सदस्यमा पनि आकांक्षी धेरै हुँदा चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको पदाधिकारीमा आकांक्षी स्मृति बरालले बताइन् । देशभरबाट करीब १ हजार ५ सय पदाधिकारी सहभागी हुने महाधिवेशन ३ दिनसम्म चल्नेछ ।