Banner Nepal
बालबालिकाको मुस्कान फर्काउने अभियानमा धनगढीको निशर्ग अस्पताल, ओठ र तालु फुटेका बालबालिकाको निःशुल्क उपचार

काठमाडौं । सुदूरपश्चिमको धनगढीमा रहेको निसर्ग अस्पतालले जन्मजात ओठ वा तालु फुटेको बालबालिकाको निःशुल्क शल्यक्रियाको सेवा सञ्चालनमा ल्याएको छ ।

गैर नाफामुलक संस्था स्माइल ट्रेनको सहयोगमा निसर्ग अस्पतालले यस्तो सेवा पहिलो पटक सुदूरपश्चिममा सुरु गरेको हो । शल्यक्रियासहित उपचारमा लाग्ने सबै खर्च निशुल्क गरिनुका साथै यातायात खर्च पनि दिइने अस्पतालका कार्यकारी अध्यक्ष तिर्थराज पन्तले जानकारी दिए ।

उनका अनुसार बिरामी कुरुवालाई समेत निःशुल्क खान बस्नको व्यवस्था गरिएको छ । यसअघि यस्ता बिरामी उपचारकालागि काठमाडौंसम्म पुग्नु पथ्र्यो ।

मुस्कान फर्काउने उपचार अब सुदूरपश्चिममै सम्भव बनाएर पन्तले गुन लगाएको स्थानीयको भनाइ छ । सेवा सुरु भएसँगै सुदूरका हजारौँ बालबालिकाले नयाँ जीवनको खुशी पाउने भएका छन् ।

के हो ओठ र तालु फुट्ने समस्या ? यो समस्या शिशु जन्मँदाखेरि देखिने हो, जसमा बच्चाको ओठ वा मुखको छानो तालु खुल्ला हुन्छ । यसका कारण बालबालिकामा बोल्ने , खाने सास फेर्ने र हास्ने समस्याका साथ आत्मविश्वास जगाउने कुरामा गम्भीर समस्या आउन सक्छन् ।

तर उचित समयमा शल्यक्रिया गरेर यसलाई पूर्णरूपमा ठीक गर्न सकिन्छ । चिकित्सकहरूका अनुसार जन्मिएको केही महिनाभित्रैमा सफल अपरेशन गर्न सकिए यस्ता समस्या जीवन भर भोग्नु पर्दैन ।

अस्पतालले यो उपचारका कालागि निःशुल्क अपरेशन सेवा, अस्पताल भर्ना, औषधि, परीक्षण सबै निःशुल्क गरेको छ । वरिष्ठ सर्जन डा दीपक ठाकुराठी, एनेस्थेसिया विशेषज्ञ डा हेमन्त ओझा, डा सुनिल भट्ट लगायतका दक्ष चिकित्सकको टोली बालबालिकाको मुस्कान फर्काउने अभियानमा जुटेको छ ।

निसर्ग अस्पतालले धनगढीमै यस्तो सेवा सुरुगरेपछि गरीब, पिछडिएको र ग्रामीण क्षेत्रका बालबालिकाकालागि निःशुल्क उपचार सेवा बरदान सावित भएको छ । स्थानीय भन्छन् – यो केवल उपचार होइन, नयाँ जीवन र आत्मविश्वासको यात्रा हो । अस्पतालले निःशुल्क उपचार सेवाका बारेमा सबैलाई जानकारी दिएर लाभ लिन समेत अपिल गरेको छ ।

No description available.

 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update