
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जादै हुनुहुन्छ । एउटा सामुदायिक अस्पतालको भवन उद्घाटनका लागि प्रधानममन्त्री ओली विराटनगर जान लाग्नु भएको हो ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत ओली दिउँसो १ बजे बिराटनगर पुग्ने कार्यतालिका छ । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्बको लागतमा २ सय बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल निर्माण गरिएको छ ।
सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिनुभयो ।
२०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको मण्डलले बताउनुभयो ।