
काठमाडौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व’ भन्ने नारासहित यो वर्षको विश्व वातावरण दिवस आज विविध कार्यक्रम गरि मनाइँदै छ ।
नेपालमा भने प्लास्टिक प्रयोगसँगै यसबाट उत्पन्न हुने दीर्घकालीन प्रदूषण न्यूनीकरण गर्न चुनौतीको चाङ उस्तै छ । घरबाट निस्कने फोहोरसँगैका प्लास्टिकका थुप्रोले कालान्तरसम्म नमेटिने प्रदूषणको थुप्रो सहर र गाउँका माटोमा थुप्रिएको विज्ञले औँल्याएका छन् ।
प्लास्टिकका झोलालगायत यसबाट बनेका उपकरणको प्रयोग सजिलो र सहज लाग्छ तर प्रयोगपछि निम्तने दीर्घकालीन समस्याले वातावरण र मानव जीवनमै गम्भीर क्षति पुग्ने वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बताउनुभयो ।
उहाँले प्लास्टिक माटोमा पुरिए पनि सयौँ वर्षसम्म नकुहिने भएकाले यसको प्रयोग र व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गर्नुभयो । वातावरण दिवसको नारासँगै प्लास्टिकको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःउत्पादन गर्ने नारा तत्कालका लागि आत्मसात् गरिएको सुवेदीको भनाई छ ।
नेपालमा तीन वर्षअघि भएको एक अध्ययन अनुसार ३१७ वटा प्लास्टिकका झोला र अन्य प्लास्टिकका सामग्री उत्पादन गर्ने उद्योग छन् । प्लास्टिकको उपयोग अत्याधिक भएपछि बिसर्जन र व्यवस्थापनमा समस्या भएको छ ।
त्यस्ता सामग्री जलाउँदा उत्पन्न हुने धुँवाका कारण फोक्सो, छाला, पेट, आँखालगायतका क्यान्सरसहितका दीर्घरोग निम्तिने खतरालाई न्यूनिकरण गर्न चुनौतीपूर्ण रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भन्दै आएको छ ।