Banner Nepal
यातायात व्यवसायीले आन्दोलन स्थगन गरेसँगै सार्वजनिक यातायात सञ्चालनमा

काठमाडौं । यातायात व्यवसायीले आफ्ना आन्दोलन फिर्ता लिएसँगै देश भर सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।

गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेपछि आन्दोलनरत व्यवसायीले यातायात बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए ।

सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबिच पटक–पटक भएको वार्तामा दुई पक्षबीच सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो ।

सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो । संघीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले हिजो दिनभर सवारी साधन नचलाउँदा सर्वसाधारणले सास्ती भोगेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update