
काठमाडौं । पूर्वी नेपालबाट मनसुन भित्रिएसँगै सुरु भएको वर्षाका कारण झापाका दुई पालिका जलमग्न भएका छन् । माइखोलाको बाढी बस्तीमा पसेपछि गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिकाका सय भन्दा बढी घर परिवार विस्थापित भएका छन् ।
माइखोलाबाट सिंचाइका लागि ल्याइएको सिमलबाँध फुटेपछि बाढी बस्तीमा पसेको हो । बाढीले गौरीगञ्ज गाउँपालिकाको धनगढा, राजगढ र चौरीबजारमा खोलाको बाढी पस्दा ६० घर परिवार विस्थापित भएको जनमत पार्टीका बुद्धिराज न्यौपानेले बताए । त्यस्तै बाढीले पूर्व तर्फको झापा गाउँपालिका वडा नम्बर २ का २२ घर परिवार विस्थापित भएका छन् ।
न्यौपानेले बाढी पीडितलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको बताए । बाढीका कारण झापामा निर्माणाधीन पूर्वपश्चिम राजमार्गका केही स्थानमा सडक समेत अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण चाराआली, बुटाबारी र धुलाबारी खण्डमा यातायात आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ ।