
काठमाडौं । राइड सेयरिङ को विरोधमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले आज पनि गण्डकी प्रदेशमा गाडी चलाएका छैनन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा उनीहरुले हिजोदेखि प्रदेशभर सार्वजनिक यातायात सेवा बन्द गराएका हुन् ।
सार्वजनिक यातायातका साधन नचलेपछि पर्यटकीय नगर पोखरासहितका शहरहरु सुनसान भएका छन् । प्रदेशभर गुड्ने झण्डै १५ हजार भन्दा बढी गाडी उनीहरुले ग्यारेजमा थन्क्याएर विरोध जनाएका हुन् ।
लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि सर्वसाधारण समस्यामा परेका छन् । व्यवसायीले ट्याक्सीसमेत थन्क्याएका छन् । सडकमा पर्यटक बस, निजी सवारी साधन मात्रै गुडेको देखिन्छ ।
उपचारको लागि पोखरा जानुपर्ने जिल्लाका बिरामीहरू यातायात नचल्दा समस्यामा परेका छन् । व्यवसायीले भोलि काठमाडौंको माइतीघरमा विरोध कार्यक्रम गर्ने जनाएका छन् ।
सरकारले नियमावली खारेज नगरे १९ गतेदेखि देशैभर यात्रुवाहक र मालवाहक गाडीहरू ठप्प पार्ने उनीहरुले बताएका छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल यातायात मजदुर संघले साथ दिएका छन् ।