Banner Nepal
व्यवसायीको आन्दोलनका कारण गण्डकीमा यातायात बन्द, पोखरा सुनसान

काठमाडौं । यातायात व्यवसायीले गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा बन्द गरेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन ल्याएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएको भन्दै  व्यवसायीले सरकारी निर्णयको विरोधमा सार्वजनिक सवारीका साधन नचलाएका हुन् ।

सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण यात्रु समस्यामा परेका छन् । व्यवसायीले राइड सेयरिङलाई मान्यता दिने निर्णयबाट सरकार पछि नहटेसम्म आन्दोलन नरोक्ने जनाएका छन् ।

राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले सार्वजनिक यातायात सेवालाई धराशायी बनाउन सरकार लागि परेको आरोप लगाउनु भयो ।

व्यवसायीको आन्दोलनका कारण पोखरासहित गण्डकीमा प्रदेशमा बिहानैदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा सबै ठप्प रहेको हाम्रा सहकर्मी दीपक परियारले जनाएका छन् ।

यातायातका साधन नचल्दा पर्यटकीय नगरी पोखरा बिहानैदेखि सुनसान भएको छ । सरकारले निर्णय फिर्ता नलिए १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update