Banner Nepal
अफताबलाई सफाई दिने दुई न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी, तत्काल निलम्बन गरी अनुसन्धान गर्न माग

काठमाडौं । बम विष्फोटमा संलग्न पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमसहित संलग्नलाई सफाई दिने दुई न्यायाधीशहरुलाई कारवाही गर्न माग गर्दै न्यायपरिषद्मा उजुरी परेको छ ।

फैसला गर्ने न्यायाधीशहरु डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने मागसहित परिषद्मा निवेदन परेको हो । युवराज पौडेलले दर्ता गराएको निवेदनमा रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिएर न्यायाधीशहरुले पीडितमाथि अन्याय गरेको जिकिर गरिएको छ ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग गरिएको छ ।

जिल्ला अदालतले विभिन्न आधार देखाउँदै व्यक्तिहत्याको आरोपमा आलम लगायतलाई दोषी किटान गरेको थियो । तर जिल्ला अदालतले औंल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरुको बेवास्ता गरी फैसला गरेको भन्दै उजुरीमा न्यायाधीशहरु थारु र महर्जनमाथि छानविन हुनुपर्ने माग भएको हो ।

निवेदक पौडेलले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गरेका छन् ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।

फैसलापछि न्यायाधीशद्वय थारु र महर्जनको कार्यसम्पादनमाथि प्रश्न उठिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update