
काठमाडौं । सत्तारुढ दुई दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निश्कर्ष निकालेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका शीर्ष नेताबीचको भएको छलफलले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नको गृहमन्त्री लेखकले संसदमा जवाफ दिने तर राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।
गृहमन्त्री लेखकको राजीनामा मागेर विपक्षीले संसद अवरुद्ध पारेपछि प्रधानमन्त्री भेट्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु बिहान बालुवाटार पुगेका थिए ।
भेटमा लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए । सभामुख देवराज घिमिरेले सदनको नियमित कारवाही अघि बढाउन सत्तापक्ष र प्रतिपक्ष दलका सचेतकहरुसँग छलफल गरिरहेका छन् ।
सत्तापक्ष र विपक्षीहरु आ–आफ्नै रणनीतिमा रहेकाले प्रतिनिधिसभा बैठक भने चेपुवामा परेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।