
काठमाडौं । व्यवस्था उल्ट्याउने गरिको जनविद्रोह गर्ने तयारी गरेको राप्रपासहितको संयुक्त जनआन्दोलन परिचालन समितिलाई प्रशासनले रिङ्रोड बाहिर रोक्ने तयारी गरेको छ । राजावादीलाई रिङरोडभित्र कार्यक्रम गर्न नदिने सरकारको रणनीति बमोजिम बाहिरै रोक्ने तयारी भएको हो ।
जेठ १५ गतेदेखि काठमाडौंको रत्नपार्कबाट आन्दोलन सुरु गर्ने बताएको समितिलाई रिङरोड भित्र प्रवेशमा रोक लगाउने तयारी गरिएको सुरक्षा स्रोतको दाबी छ । राप्रपासहितको आन्दोलन परिचालन समितिले औपचारिकरुपमा कार्यक्रमका लागि अनुमति नमागेकाले उनीहरुका लागि कुनै स्थान नछुट्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जेठ १५ गतेबाट जन आन्दोलन सुरु गर्ने र राजसंस्था र हिन्दूराज्य पुर्नस्थापना नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरिएकाले आन्दोलनका लागि कोहीसँग समय लिनु नपर्ने बताउनुभयो । लावतीले भोलि मध्यान्ह १२ रत्नपार्ककको शान्तिबाटिकामा भेला भएर शान्तिपूर्ण ढंगबाट आन्दोलन सुरु हुने जानकारी दिनुभयो ।
सरकारले भोलि रत्नपार्क नजिकै रहेको टुँडीखेलमा गणतन्त्र दिवसको अवसरमा औपचारिक कार्यक्रम गर्दैछ । सरकार नेतृत्वकर्ता दल नेकपा एमालेले पनि भोलि गणतन्त्र दिवसका अवसरमा कार्यक्रमको आयोजना गरेको छ । प्रशासनले एमालेलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिएको छ ।
गत चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि राजावादीले भोलिदेखि गर्न लागेको कार्यक्रमप्रति सर्वसाधारणको चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएसँगै दुई पक्षबीच हुने सम्भावित मुठभेडलाई लिएर सर्वसाधारणले चासो व्यक्त गरेका छन् ।
संयुक्त जनआन्दोलन समितिले यसअघि नै रत्नपार्कबाट आन्दोलन उठाउने घोषणा गरिसकेको छ । भोलिको कार्यक्रमबारे उपत्यका प्रहरी कार्यालयले प्रधान कार्यालयसँगको समन्वयमा सुरक्षा योजना सार्वजनिक गर्ने बताएको छ ।