
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकलाई तत्काल दोषी ठहर गर्न नसकिने निश्कर्ष निकालेको छ । त्रिभुवन विमानस्थल अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता पुष्टि हुने आधार नभेटिएको भन्दै लेखकलाई दोषी ठहर गर्न नसकिने निश्कर्ष निकालेको हो ।
आज बिहान सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सामाजिक सञ्जालमा फैलाइएका अफवाहका भरमा गृहमन्त्रीले राजीनामा दिन नहुने निश्कर्ष निकाले हो ।
प्रवक्ता डा. प्रकाशशरण महतले यो प्रकरणमा गृहमन्त्री निर्दोष रहेको पार्टीको निश्कर्ष रहेको सुनाउनु भयो । महतले अध्यागमनमा भएको अख्तियारको छानबीन र त्यसपछिका सबै सन्दर्भलाई संसदभित्र गृहमन्त्रीले प्रष्ट पार्ने जानकारी दिनुभयो ।
नेता डा. शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको महतले बताउनुभयो । पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले घटनाबारे स्पष्ट पारेकाले अब त्यस्ता अभिव्यक्ति नेताहरुबाट नआउने कांग्रेसले जनाएको छ ।