
काठमाडौं । खाना पकाउने ग्यास चुहिएर आगलागीहुँदा कपिलवस्तुमा दाजु बहिनीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–५, जयनगरमा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास चुहिएर आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनम यादवको मृत्यु भएको हो ।
आज बिहान ७ बजे ग्यास चुल्होमा खाना पकाउने क्रममा रेगुलेटरबाट अचानक ग्यास चुहिएर आगलागी भएको थियो । शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको अवस्थामा भैरहवास्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेजमा लैजाँदै गर्दा हिजो साँझ ६ बजेतिर बाटोमै दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सोनम राष्ट्रिय उच्च माध्यामिक विद्यालय कक्षा १० मा अध्ययनरत थिइन् । उनको निधनको दुखमा विद्यालयल आज शोक बिदा दिएको विद्यालयका प्रधानाध्यापक लाल चन्द पाण्डेले जानकारी दिनुभयो ।