
काठमाडौं । हुम्लाको तिल गाउँमा आएको बाढी पहिरोबारे अध्ययन गर्न गएको सरकारी टोली फर्किएको छ । पहिरो गएको ८ औं दिनमा घटनाको कारण पत्ता लगाउन विज्ञसहितको टोली हुम्ला पुगेको थियो ।
सो स्थानमा ३ वटा ताल रहेको र ती मध्ये २ वटा तालको जमिनमुनिबाट पानी चुहिएको पाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठले बताए ।
श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा सदस्य छन् ।
झन्डै ५३ सय ५० मिटरको उचाइमा रहेको दुई वटा हिमताल दबिएर तिल गाउँमा बिनावर्षा एक्कासी बाढी आएको थियो । घटनाबारे थप विवरण प्रतिवेदनमा समावेश गरिने श्रेष्ठको भनाई छ ।