
काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने विषयमा सकस देखिएको छ । पोखरामा शुक्रबारदेखि सुरु महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चुन्ने प्रयास गरिए पनि आंकाक्षीबीच सहमति जुट्न नसक्दा महाधिवेशन लम्बिएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई दोहोर्याउन चाहेपछि अध्यक्षका अन्य दाबेदारले असन्तुष्टि जनाएका छन् ।
अध्यक्षका दाबेदार उपाध्यक्षद्वय महाराज गुरुङ र कृष्णहरि केसी , महासचिव सुमन पुरीले दाबी छाडेका छैनन् । थेबेलाई पुनः अध्यक्ष बनाउने ओलीको आशय बुझेपछि गुरुङ र केसीले चुनावको माग गर्दै आएका छन् ।
सर्वसम्मतको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया थाल्ने विषयमा छलफल सुरु भएको बताइएको छ । मतदान हुने सम्भावना बढेपछि काठमाडौंबाट ४५ वटा भोटिङ मेसिन हिजो साँझ पोखरा पुर्याइएको छ ।
झण्डै २ हजार प्रतिनिधि सहभागी महाधिवेशनले ९ जना पदाधिकारी सहित १ सय ५१ सदस्य नयाँ केन्द्रीय समिति चयन गर्ने छ । निर्धारित कार्यतालिका अनुसार अघि बढेको भए महाधिवेशन आज सकिने थियो ।