
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । सभापति रवि लामिछानेलाई सवोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रास्वपाले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको हो ।
सचिवालयको बैठक दिउँसो तीन बजे भर्चुअल माध्यमबाट बस्ने रास्वपाले जनाएको छ । सचिवालय बैठक लगत्तै ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने नेताहरुले बताएका छन् ।
सभापति लामिछानेलाई सर्वोच्चले थुनामुक्त गर्ने अपेक्षा गरेको रास्वपाले भावी रणनीति तय गर्न पार्टीको बैठक बोलाएको जनाएको छ । लामिछानेलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश सदर गरिदिएपछि रास्वपा नेताहरुले अबको रणनीति तय गर्ने बताएका छन् ।
लामिछाने माथि सरकारले प्रतिशोध साँधेको जिकिर गर्दै आएको रास्वपाले गृहमन्त्री रमेश लेखकसँग जोडिएको विमानस्थलको अध्यागमन विभागबाट भएको मानव तस्करीको विषयलाई निरुपण गर्न सरकारलाई दबाब दिने तयारी गरेको छ ।