
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका केही नेतालाई लिएर आज उत्तरी छिमेकी चीनको भ्रमणमा जादै छिन् । चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा पूर्वराष्टपति भण्डारी आज साँझ चीन जान लागेकी हुन् ।
सक्रिय राजनीतिमा फर्किने चाहना राखेकी भण्डारीको टोलीमा एमालेका सचिव एवम् विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन लगायत सहभागी हुने छन् ।
भ्रमणका क्रममा भण्डारीले द्विपक्षीय राजनीतिक भेटघाट र संवादमा सहभागी हुने बताइएको छ । राष्ट्रपतिको कार्यकाल सकिएपछि पहिलो पटक भण्डारी एमाले नेताहरुको टोलीलाई नेतृत्व गर्दै विदेश भ्रमणमा जान लागेकी हुन् ।
पार्टी राजनीतिमा फर्किने तयारी गरेकी भण्डारीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमण टोलीमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसँगको सहमतिपछि पूर्वराष्ट्रपति भण्डारी एमाले नेतालाई नेतृत्व गर्दै चीन जाने तय भएको हो । पूर्वराष्ट्रपति भण्डारीसहितको टोली जेठ १९ गते स्वदेश फर्किने एमाले सचिव महासेठले जानकारी दिए ।