Banner Nepal
घाटबाट बालिकाको शव प्रहरी नियन्त्रणमा, बुहारी र जेठाजु पक्राउ

काठमाडौं । दाहसंस्कार गर्न लागेका बेला संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षिया बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकामबाट गएको प्रहरीको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।

वैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाइबुहारी कल्पनाबीच झगडा भएको थियो । झगडाका क्रममा भाइबुहारी कल्पनाले भतिजी युनिकालाई धकेल्दा डिलबाट लडेर सख्त घाइते भएकी थिइन् ।

सख्त घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो ।

नियन्त्रणमा लिइएको शव जिल्ला अस्पताल संखुवासभाको शव गृहमा राखिएको प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । प्रहरीले गोपालकी भाइबुहारी कल्पनालाई नियन्त्रणमा लिएको छ ।  घटनाबारे बुझ्न प्रहरीले बालिकाका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update