Banner Nepal
अमेरिकामा इजरायली दुई कर्मचारीको गोली हानी हत्या, मारिएकाहरु चाँडै बिहे गर्ने तयारीमा थिए 

काठमाडौं । अमेरिकाको वाशिंगटनमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरिएको छ । डीसीमा रहेको एक यहुदी संग्रहालयबाहिर रहेका उनीहरुलाई गोली हानेर हत्या गरिएको हो ।

घटनामा एक पुरुष र एक महिला मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीबीएसले जनाएको छ । क्यापिटल यहुदी संग्रहालयमा आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा स्थानीय समय अनुसार गएराति सवा ९ बजेतिर उनीहरुमाथि गोली प्रहार भएको थियो । आक्रमण सुनियोजित भएको प्रहरीको भनाई छ ।  

सो घटना एफबीआईको फिल्ड कार्यालय नजिकै भएको हो । इजरायली दूतावासका कैयौं कर्मचारी संग्रहालयमा आयोजित कार्यक्रममा सहभागी थिए । गाजामा इजरायलले आक्रमण बढाएसँगै अमेरिकामा इजरायली कर्मचारीको हत्या भएको हो ।

इजरायली दुतावासका अनुसार मृतक दुवै जना चाँडै विवाह बन्धनमा बाधिने तयारीमा थिए । आक्रमणकारीले स्वतन्त्र प्यालेस्टाइनको नारा लगाउँदै उनीहरुमाथि गोली हानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update