Banner Nepal
आरोहणको पहिलो दिन एकैपटक ४० जनाले सगरमाथा आरोहण गरे

काठमाडौं । विश्वकै अग्लो हिमाल सगरमाथाको शिखरमा यो वर्षकै पहिलो आरोहणका क्रममा एकैदिन ४० जनाले चुचुरोमा पाइला टेकेका छन् । खराब मौसमको सामना गर्दै यो बर्षको पहिलो आरोहणमै हिजो  एकै दिन ४० जना स्वदेशी तथा विदेशी सगरमाथाको शिखरमा पुगेका हुन् ।

२२ नेपालीसहित चिनियाँ, युक्रेनी, चेक रिपब्लिकन, अमेरिकी र जापानी आरोहीले सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटा फरक–फरक कम्पनीबाट गएका उनीहरू बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । सगरमाथासहित २६ वटा हिमाल आरोहणका लागि विभागले १ सय १९ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको छ ।  

अनुमति पाउनेमा नेपालसहित ५७ देशका २४० महिला र ८८७ पुरुष रहेका छन् । सगरमाथासँगै रहेको ल्होत्से हिमाल आरोहणका लागि १ सय ७ र नुप्से हिमाल आरोहणका लागि ७६ जनाले अनुमति पाएका छन् । आरोहणका लागि अनुमति पाएका आरोही र उनीहरूका सहयोगीहरु सगरमाथा आधार शिविर पुगिसकेका छन् । आधार शिविरमा अहिले झण्डै एक हजार स्वदेशी तथा विदेशी नागरिक रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update