
काठमाडौं । ताप्लेजुङ्गको पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएसंगै पाथीभरामा केबलकार निर्माणका लागि बाटो खुलेको हो ।
न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भनेको हो । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै गत चैतमा यामबहादुर लिम्बू लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।
न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो । दुई पक्षको छलफलपछि डा। नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने निश्कर्षमा पुगेको हो ।
अदालतको आदेशसँगै अब केबलकार निर्माणको काम अघि बढाउन कानुनी अवरोध हटेको छ । आईएमई ग्रुपको लगानीमा पाथीभरामा केबलकार निर्माणको योजना अघि बढेको हो ।