Banner Nepal
तीन घण्टा पानी पर्दा अवरुद्ध भएको बीपी राजमार्ग अस्थायीरुपमा सञ्चालनमा ल्याइयो

काठमाडौं । वर्षासँगै रोसीखोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बिपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा आएको छ । बाटो बन्द भएको १४ घण्टापछि साना गाडी र मोटरसाइकल चल्न थालेका हुन् ।

गत असोज दोस्रो साता आएको बाढीका कारण क्षति भएको राजमार्गमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएकोमा गत सोमबारको वर्षाले पुन डाइभर्सन सडक बगाएको थियो । सडक डिभिजन भक्तपुरका अनुसार रोसीखोलामा आएको बाढीका कारण कटुन्जेबेँसी र माम्तीमा निर्माण गरिएको डाइभर्सन सडकमा क्षति पुगेको छ ।

सोमबार तीन घण्टा भएको वर्षाले डाइभर्सन बगाएको थियो । ठुला सवारी साधनलाई भने अझै असहज भएको स्थानीय प्रशासनले जनाएको छ । गत असोजमा सो राजमार्गको चौकीडाँडाँदेखि बोक्सीकुनासम्मको करिब १२ किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षति भएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update