
सिके राउत नेतृत्वको जनमत र संरक्षक रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अघि बढ्ने भएको छ । काठमाडौंमा यही बैशाख १७ गते आयोजित पार्टी एकीकरण कार्यक्रमका क्रममा नागरिक उन्मुक्तिका संरक्षक चौधरी पक्राउ परेपछि अनिश्चित बनेको एकता प्रक्रिया अब अगाडि बढ्ने भएको हो ।
पार्टी एकीकरण हुने वा नहुने अनिश्चितताबीच दुवै दलले आगामी बिहीबार बैठक बस्ने तयारी गरेका हुन् । नागरिक उन्मुक्तिका नेता लालवीर चौधरीले स्थगित पार्टी एकीकरणलाई अघि बढाउने गरी संवाद अघि बढाइएको जानकारी दिनुभयो ।
पार्टी संरक्षक पक्राउ घटनालाई सूक्ष्म अध्ययन गर्दै पार्टी एकीकरणको प्रक्रिया पनि टुंग्याउने गरी जनमतसँग छलफल अघि बढाउने तयारी भएको लालवीरको भनाइ छ । यता, जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पनि तत्काल संवाद नभएपनि आफूहरु एकीकरणका सम्बन्धमा भएका यसअघिका तयारीलाई अघि बढाउनमा सकरात्मक नै रहेको जानकारी दिनुभयो ।
दुवै पाटीका शीर्ष नेताहरु सांगठनिक कार्यमा व्यस्त भएकाले पनि एकता प्रक्रिया केही समय लम्बिएको नेता लालवीर जानकारी दिनुभयो ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको पत्रका आधारमा चौधरी पक्राउ परेपनि सो पत्र अनाधिकृत भएको पुष्टि भएपछि उहाँ रिहा हुनुभएको थियो । नागरिक उन्मुक्तिले सो घटनाबारे मागेको जवाफमा सरकारले राजनीति पूर्वाग्रह नभएको प्रष्टीकरण दिएको थियो ।