
काठमाडौं । नेपाल भारत आउजाउमा परिचयपत्र अनिवार्य गरिएको छ । पहलगाममा एक नेपालीसहित २६ पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणसँगै भारत–पाकिस्तानबीच युद्ध चर्किएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा जोडिएका दक्षिणतर्फका नाकामा कडाई गरिएको हो ।
सुरक्षाका कारण सिमा नाकाबाट आवागमन गर्दा यात्रुलाई परिचयपत्र अनिवार्य गराइएको प्रशासनले जनाएको छ ।
भारततर्फका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विशेष निगरानी बढाउन गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र दक्षिणतर्फ सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
गृहको परिपत्रपछि नेपाल प्रहरी र सशस्त्रले सीमा नाकामा सुरक्षा गस्ती र जाँच पनि बढाएका छन् । सशस्त्रका साढे दुई सय बोर्डर आउट पोस्ट मार्फत सीमा सुरक्षार्थ जनशक्ति तैनाथ गराइएको छ ।
प्रहरीका ६० भन्दा बढी सीमा इलाका युनिटमार्फत सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा जनशक्ति तैनाथ छन् । यसका अतिरिक्त पछिल्लो घटनाक्रमपछि अरू युनिटबाट पनि दुवै संगठनले सीमा क्षेत्रमा गस्ती बढाएका हुन् ।
गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सीमाबाट आवागमन गर्दा परिचयपत्र अनिवार्य गराएर यात्रुको गन्तव्य खुल्ने गरी अभिलेख राख्न निर्देशन दिएको छ ।