
काठमाडौं । नेपालमा १ सय २९ प्रजातिका ३३५ पुतली भेटिएका छन् । पुतलीको विविधता र संख्याबारे जानकारी लिने उद्देश्यसहित गरिएको ‘बिग बटरफ्लाई’ गणना अभियानले नेपालमा पाइने पुतलीको प्रजातिको संख्या र प्रकार पहिचान गरेको हो ।
बटरफ्लाई वाचर्स नेपाल, भक्तपुरले ३ मार्चदेखि सुरु गरेको ५९ दिने ‘बिग बटरफ्लाई’ अभियान अप्रिल ३० मा सकिएको थियो । खोटाङ, कास्की, सुनसरी, लमजुङ, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, सुर्खेत, कपिलवस्तु, धादिङ, झापा र कञ्चनपुर जिल्लाका २५ ठाउँमा पुतली गणना गरिएको थियो ।
अभियानमा स्वयंसेवी र संरक्षणको काममा ३२ जना गणक सहभागी थिए । उनीहरूले मुलुकका विभिन्न २५ ठाउँमा गरेको गणनामा १ सय २९ प्रजातिका ३ सय ३५ पुतली गणना गरेका थिए । गणनामा विज्ञान, प्राणीशास्त्र र व्यवस्थापन संकाय अध्ययनरत स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थी सहभागी थिए । पुतलीप्रेमी फोटोग्राफर र फोटो पत्रकार पनि गणनामा सहभागी थिए ।
नेपालमा पाइने पुतलीका प्रजाति, पाइने क्षेत्र, संख्या र फोटो खिच्ने उद्देश्यले गणना अभियान चलाइएको बटरफ्लाई वाचर्स नेपालका संस्थापक तथा पुतलीवीद् सनेजप्रसाद सुवालले जानकारी दिए । अभियानमा सबैभन्दा धेरै पुतलीको तस्बिर खिच्नेलाई पुरस्कारको व्यवस्था गरिएको थियो । अमृत साइन्स क्याम्पस, काठमाडौंमा वातावरण विज्ञानमा स्नातक अध्ययनरत सिद्धार्थ सापकोटाले सबैभन्दा बढी तस्बिर खिचेर पहिलो पुरस्कार प्राप्त गरे ।