Banner Nepal
बलात्कार आरोपित एमाले नेता शिवाकोटी थुनामुक्त हुँदै, शक्तिको आडमा प्रहरी हिरासतमा बस्नै  परेन

काठमाडौं । बलात्कार आरोपित झापाको विर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ ।

इलाम इजलासमा न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले हिजो २० लाख धरौटीमा शिवाकोटीलाई रिहा गर्ने आदेश दिएको हो । अदालतको आदेशसँगै शिवाकोटी पर्सी आइतबार थुनामुक्त हुने बताइएको छ । यो आदेशपछि न्याय पाउने आशामा बसेका पीडित पक्ष भने निरास बनेका छन् ।

बलात्कारजस्तो गम्भीर मुद्दामा अभियुक्तलाई अस्पतालमै बस्न दिनु र अन्तिममा धरौटीमा छाड्ने अदालतको  फैसलाले आफुहरुलाई थप पिडा दिएको पीडित पक्षको गुनासो छ । घरेलु कामका लागि आफ्नै घरमा राखेकी १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा शिवाकोटी गत मंसिर २४ गते पक्राउ परेका थिए ।

पक्राउ परेका दिनदेखि नै शिवाकोटीले अस्पतालको क्याबिनमा बस्ने सुविधा पाएका थिए । अनुसन्धानका क्रममा उनलाई एक दिनपनि प्रहरी कार्यालय नलगिएको भन्दै स्थानीयले राजनीतिक शक्तिको दुरुपयोग भएको आरोप लगाउदै आएका छन् ।  अस्पताल पुगेरै प्रहरीले शिवाकोटीको बयान लिएको थियो ।  

गत पुस २२ मा जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपनि उनी शक्तिको आडमा अस्पतालमै बसेर रिहा हुन लागेका हुन् । पक्राउ परेको दिनदेखि झण्डै पाँच महिना शिवाकोटी बीएण्डसी अस्पतालको भीआईपी क्याविनमा बस्दै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update