
काठमाडौं । भारत र पाकिस्तानबीच द्वन्द्व चर्किँदै जाँदा मिसाइल र रकेट आक्रमण तिब्र हुन थालेको छ । जम्मु, पठानकोट र उधमपुरमा पाकिस्तानले आक्रमण गरेको र विमानस्थल क्षेत्रमा समेत विष्फोट भएको भारतीय पक्षले बताएको छ ।
त्यस्तै, पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरी आफ्ना तीनवटा सैन्य आधार शिविरमा आक्रमण गरेको भारतले आरोप लगाएको छ । तर, पाकिस्तानले भने हमला नगरेको दाबी गरेको छ । द्वन्द्व बढ्दै जाँदा मध्यरातिसम्म पाकिस्तानतर्फ ३१ जनाको र भारततर्फ १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
भारत प्रशासित कश्मिरको जम्मू र उधमपुर तथा भारतको पञ्जाब राज्यको पठानकोटमा रहेका आफ्ना आधार शिविरहरूमा पाकिस्तानले गरेको आक्रमणको प्रयासलाई विफल पारेको दाबी भारतले गरेको छ । हिजो साँझ भारत प्रशासित कश्मिको जम्मू सहरमा विस्फोट भएपछि त्यस क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।
यसैबीच, अमेरिकाले एक अर्कामाथि आक्रमण बन्द गर्न दुवै मुलुकलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले युद्धले कुनै समाधान ननिस्कने बताउँदै युद्ध रोक्न आग्रह गरेका हुन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेर युद्ध अन्त्यका लागि आग्रह गरिएको ब्रुसले जानकारी दिए ।