
काठमाडौं । कानुन क्षेत्रमा सरोकार राख्नेहरुले आज विविध कार्यक्रम गरि कानुन दिवस मनाउँदै छन् । वर्षेनी वैशाख २६ गते कानुन दिवस मनाउँदै आइएको छ । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चितताका साथ न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै
आज ७३ औँ कानुन दिवस मनाउन लागिएको हो । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन पनि हो । विसं २००७ सालमा प्रजातन्त्र स्थापनापछि २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको सम्झनामा कानुन दिवस मनाउन थालिएको हो । सो ऐन २००९ साल पुस ८ गते राजपत्रमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा अहिलेको सर्वोच्च अदालतको स्थापना भएको हो ।
न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको सुरुवात पनि सोही दिनदेखि भएको हो । दिवसका अवसरमा सर्वोच्च अदालतले आज विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुने बताइएको छ ।