Banner Nepal
फेकन उपाध्यक्षमा रोशन खरेलको उम्मेद्वारी, पेशागत हितकालागि दर्जनौ योजना सार्वजनिक

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को केन्द्रीय उपाध्यक्षमा रोशन खरेलले उम्मेद्वारी घोषणा गरेका छन् ।

सार्वजनकि अपिल जारी गर्दै उनले फेकनको आसन्न महाधिवेशनमा उपाध्यक्षकालागि उम्मेद्वारी दिने जनाएका हुन् । फेकनको उपलब्धिलाई विश्वस्तरमा लैजाने प्रतिबद्धतासहित उम्मेद्वारी घोषणा गरेका उनले भावी योजना समेत सार्वजनिक गरेका छन् ।

सन् २०१३ देखि फेकनमा सक्रिय सदस्य रहदै आएका खरेल फेकनका कार्यकारी सदस्य पनि हुन् । लामो समयदेखि शैक्षिक परामर्शको पेशामा रहेका खरेल अष्ट्रेलियाका कलेजसँग निकट रहेर विद्यार्थीहरुको उच्च शिक्षाका लागि सहजीकरण गरिरहेका छन् ।  

खरेलले फेकनको संस्थागत सुधार र संस्थाको पारदर्शितालाई अझ बलियो बनाउँदै सदस्यको व्यवसायिक हितका लागि काम गर्ने योजना बनाएका छन् । कार्यकारी सदस्यमा रहदा पनि आफुले सदस्यहरुका आवाजलाई कार्यसमितिमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।

खरेलले आफु उपाध्यक्षमा निर्वाचित भए सदस्यहरुको सशक्तिकरण, सदस्यको वृत्तिविकासका लागि निशुल्क प्रशिक्षण र मेन्टरशिपका कार्यक्रम गर्ने जनाएका छन् । आफ्नो कार्ययोजनामा खरेलले युवा र महिला सदस्यलाई अवसर सिर्जना मार्फत पेशा व्यसायमा टिकाउन पहल गर्ने उल्लेख गरेका छन् ।

सिंगो संस्थालाई सबै सदस्यहरुका लागि आर्थिक स्वावलम्वनको संस्थामा रुपान्तरणमा जोड दिदै आएका खरेलले फेकनलाई नयाँ उचाईमा लैजान अनेक कार्ययोजना बनाइरहेको बताएका छन् ।

गेटवे ग्लोवल स्टडीका सञ्चालक खरेल व्यवसायीमाझ लोकप्रिय मानिन्छन् । शैक्षिक परामर्शको क्षेत्रमा फेकन दोस्रो ठूलो संगठनका रुपमा परिचित छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update